७ पुस, काठमाडौं। युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् । आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ। अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।
यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।
त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको भएको थियो ।
घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।
यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो।
हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए। सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ।
त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ।
हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।
घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।
ती व्यवसायीले नगद २० लाख रूपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थियो । सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो ।
सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्रयाप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्रयापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको सीआईबीको निष्कर्ष छ ।