२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलाली र रुकुमपूर्वको दुर्घटनामा ४ जनाको मृत्यु, ४ घाइते

२६ मंसिर, धनगढी । कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।

गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । चालक टीकापुर–१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ । सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नंम्बरको मोटरसाइकल ठोक्किएको थियो । महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी रुकुमपूर्वको सिस्ने गाउँपालिका-६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन् ।

लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका-६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीको अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन् । घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते भएको बताएको छ। घाइते सबैलाई रात्री नै उद्रवार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस