२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपिएल : आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

१७ मंसिर , काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दै छन् ।

त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस