काठमाडौं । पर्यटकीय राजधानी पोखरामा फागुन १२ (आगामी फेब्रुअरी २४) देखि नेपाल-भारत-चीन ट्राइनेशन एक्स्पो आयोजना हुने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवम् निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा तीनदिने ‘नेपाल-इन्डिया-चाइना एक्स्पो(नाइस २०२५)’ आयोजना गर्न लागेको हो ।
नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थन निम्ति निमन्त्रण गरेका छन् । विश्व पर्यटन इतिहासमै पहिलोपटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने ‘नाईस’ सम्भवतः पहिलो पर्यटन मेला हुने उनको अनुमान छ ।
एक्स्पोमा १०० भन्दा बढी क्रेताहरू, ८० भन्दा बढी बिक्रेताहरू, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिता हुने आयोजकको अनुमान छ ।