काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु गरेको छ ।
महानगरपालिकाका उप-प्रमुख सुनीता डङ्गोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम सुरु गर्नुभएको हो ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ ।
स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो ।
स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो ।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा सात वटा महिलाका लागि र पाँच वटा पुरुषका लागि शौचालय हुनेछन् ।