काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ।
गाउँपालिकाको आयोजनामा महोत्सव हुने खेल महोत्सव तीन दिन सञ्चालन हुनेछ। यही मंसिर १४ देखि १६ गतेसम्म खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष तथा खेल महोत्सव मूल समितिका संयोजक साबित्रा कोइरालाले बताइन्।
प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ। करिब सात सय खेलाडी सहभागी हुनेछन्। एउटा वडाबाट ९८ जना खेलाडीले विभिन्न खेलमा भाग लिने उनले बताइन्।
खेल महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता हुनेछ। खेल महोत्सवको तयारी पूरा भएको छ। महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन्। मंसिर १४ गते शुक्रबार बिहान १० बजे मिर्मी खेलमैदानमा खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको कोइरालाले बताइन्। बेल्टारी खेल मैदानमा समेत खेल सञ्चालन हुने उनले बताइन्।
कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव हुँदै आएको छ।