२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, चढ्न अब शुल्क तिर्नुपर्ने

काठमाडौं । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पांग्रेलाई प्रतिघण्टा २० र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस