२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत

Electricity generated from the 73 MW Central Tamor Hydropower Project is connected to the Koshi Corridor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट थपिएको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत आयोजनाबाट १६८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । तीन वटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको प्राधिकरणले जनाएको छ ।

१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यवसायिक रुपमा विद्युत उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत बिक्री गरिसकेको छ ।

४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरिएको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ ।

परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु हुने प्राधिकरणले जनाएको छ । उसका अनुसार दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यवसायिक विद्युत उत्पादन हुनेछ ।

नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदमा करिब ८० मेगावाटमात्र विद्युत उत्पादन हुन्छ । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशीबाहेक तीन वटा आयोजना सम्पन्न भएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका वेला सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागे तापनि अब तीन वटा आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएको छ’, उनले भने, ‘बढी विद्युत माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरुले हिउँदयाममा विद्युत प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन् ।’

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए ।

सीईओ सिंहले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे । चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ ।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरु, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीईओ सिंहले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस