२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चालू आर्थिक वर्षको ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा मुलुकले साढे ४ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी कूल ५ खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ घाटा देखिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ०.१७ र निर्यात ४.१६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र ४ महिनामा २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग १ खर्ब ३ अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा १ खर्ब २ अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा २९ अर्ब ४ करोड २० लाख बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । ४ महिनामा ३ अर्ब ६० करोड ८ लाख बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड र अलैँची १ अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस