काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट सिफारिस भएका डीआईजीपी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।
यस्तै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । आचार्य नेपाली काँग्रेस निकटका हुन् भने विष्ट र भण्डारी नेकपा (एमाले) निकट हुन् ।
मन्त्रिरिषद् बैठकले श्रीलंकाका लागि राजदूतमा डा. पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ । बैठकले उनलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत पनि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । कपिलवस्तु स्थायी घर भएका नेपाली काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन् ।