काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ ।
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरणसभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअट्ने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताए ।
एमालेले प्रतिपक्ष दलहरूले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।