काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ ।
सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सीईओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्वपूर्ण भूमिका खेल्ने बताए । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।