काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडकखण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । उक्त सडकमा मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।
बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका अनुसार सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गामा सडकमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको हो ।
सडकमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको छ । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको छ ।