काठमाडौं । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसिर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ ।
एमालेले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सदभाव, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरेको छ । सो सभामार्फत मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने लक्ष्य रहेको छ । सो सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरको महासचिव हिरामान लामाले बताउनुभयो । बैठकले जागरण सभामा सहभागी हुन सवै उपत्यकावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई निर्देशन दिएको छ ।
यसैगरी बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सवै सदस्यको बीचमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताउनु भयो । सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कँही कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रबृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताउनु भएको छ । महासचिव लामाले दिनुभएको जानकारीअनुसार अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेहरुलाई अव संगठनबाट बिदा गर्ने योजनासमेत सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिनुभएको छ । यस्तै उहाँले निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने निश्कर्षसमेत सुनाउनु भएको थियो । बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमति प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।