२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ रथलाई पशुपतिनाथमा घुमाइयो

काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ ।

चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको हो ।

चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए ।

यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भूपालेन्द्र मल्लका पालादेखि नै रहिआएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस