२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए निक्षेपमा दिने ब्याजदर

काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।

२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।

सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् । स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।

मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ६।७९ प्रतिशत दिनेछ । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ प्रतिशत कायम भएको थियो । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस