२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन एलन मस्कले उठाएपछि…

After Elon Musk picked up Zelensky's call to Trump...

फ्लोरिडा । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गरेको टेलिफोन वार्तामा अमेरिकी अर्बपति एलन मस्कले पनि कुराकानी गरेको समाचार सार्वजनिक भएको छ । जेलेन्स्कीले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन चुनावको भोलिपल्ट टेलिफोन वार्ता गरेका थिए । त्यतिबेला ट्रम्प र मस्क फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा थिए ।

ट्रम्प र जेलेन्स्कीबीच कललाई सकारात्मक र सौहार्दपूर्ण कुराकानी भएको समाचार स्रोत उद्धृत गर्दै सीएनएनले जनाएको छ । त्यसलगत्तै लाउडस्पिकरमा रहेको फोनमा जेलेन्स्कीसँग मस्कले वार्ता गरेका थिए । जेलेन्स्कीले रूससँग चलिरहेको युद्धमा युक्रेनलाई स्टारलिंकमार्फत सञ्चार प्रदान गर्न सहयोग गरेकोमा मस्कलाई धन्यवाद दिएका थिए ।

करिब ७ मिनेट लामो टेलिफोन वार्तामा कुनै नीतिगत विषयमा छलफल नभएको सीएनएनले जनाएको छ । दुई नेताबीचको टेलिफोन वार्तामा मस्कले पनि कुराकानी गरेको विषयमा सबैभन्दा पहिले ‘आक्सिओस’ अनलाईनले समाचार लेखेको थियो ।

गत बुधबार जेलेन्स्कीले ट्रम्पलाई टेलिफोन गरेको र ऐतिहासिक जितका लागि बधाई दिएको बताएका थिए । ‘हामी निकटको सम्बन्ध कायम गर्न गरेको सहयोगलाई अगाडि बढाउन सहमत भयौं । बलियो र अटल अमेरिकी नेतृत्व न्यायपूर्ण शान्ति र विश्वकै लागि महत्वपूर्ण छ,’ जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।

राष्ट्रपतीय चुनावी अभियानका क्रममा ट्रम्पले रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य गर्ने बताएका थिए । त्यसका लागि अमेरिकाले युक्रेनलाई रुससँग असहज युद्धविरामका लागि दबाब दिने उनको टिप्पणी छ । मस्कले ट्रम्पको चुनावी अभियानका लागि ११ करोड ८० लाख अमेरिकी डलर खर्चेका थिए । पछिल्लो समय उनी संघीय सरकारभित्र खर्च घटाउने प्रयासको नेतृत्वको आकांक्षा गरेका बताइन्छ । जेलेन्स्कीसँग ट्रम्पको टेलिफोन वार्तामा मस्क पनि सहभागी हुनुले आगामी ट्रम्प प्रशासनमा उनको प्रभाव कस्तो हुनेछ भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस