२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी यू–१९ महिला टी–२० विश्वकप : युएईसँग १३ रनले नेपाल पराजित

२४ कार्तिक , काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । दुबईमा जारी प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन् ।

१९ औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन् । अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए । ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् । युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् । नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक÷एक विकेट लिए । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस