२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० गरिब तथा विपन्न परिवारलाई निःशुल्क घर

सुनसरी, १६ कार्तिक । सुनसरीको इनरुवामा गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क आवास निर्माण सुरु भएको छ । महिला विकास उत्सुकता मञ्च (फरवार्ड)ले सुची फाउन्डेसनको अनुदान सहयोगमा इनरुवामा १०० वटा घर निर्माण गर्ने भएको हो ।

नेकपा एमालेका नेता तथा इटहरी ३ का सांसद भगबती चौधरीले उक्त भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । उक्त कार्यको शिलान्यास कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका चौधरीले प्रत्येक वडामा सुकुम्वासी र विपन्न परिवारका परिवारलाई वासस्थानको व्यवस्था गर्ने सरकारको तयारी रहेको बताए । सरकारले जनता आवास कार्यक्रम जस्ता कार्यक्रमहरू ल्याएर गरिब तथा विपन्न परिवारलाई आवास निर्माण गर्दै आएको बताए । ‘सरकारले गर्दै आएको सोही अभियानअन्तर्गत नै प्रत्येक वडामा गरिब तथा विपन्न परिवारका व्यक्तिहरूलाई आवास निर्माण कार्य सुरुआत गरेका हौँ’, उनले भने, ‘हुन त यो न्यून लागत नै हो । तर न्यून लागतमा कसरी हुन्छ उहाँहरूलाई एउटा खानेपानीको कलधारा, एउटा शौचालय, एउटा किचन र दुई कोठा भएको घर उपलब्ध गराउने अभियानअन्तर्गत हामीले इनरुवामा सुरुआत गरेका छौँ । केही नभए पनि ४०/५० वर्ष टिक्नेखालको घर नयाँ प्रविधिको प्रयोग गरेर निर्माण हुनेछ ।’

पूर्वमन्त्री चौधरीले सुनसरी क्षेत्र नम्बर ३ को विकासका निम्ति सदैव अहोरात्र खट्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘यस परियोजनाले ठुलो समस्याको रूपमा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सहयोग पुग्ने छ । स्थानीय विपन्न परिवारको लागि यो ठुलो अवसर हो । त्यसका निम्ति सुची फाउन्डेसनलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यस क्षेत्रको विकासका लागि म अहोरात्र खटिरहने छु, यस क्षेत्रमा कम्तीमा पनि एक हजार घर निर्माण गरिदिने मेरो योजना छ । जसले गरिब, विपन्न नागरिकको हित गर्नेछ ।’
फाउन्डेसनको सहयोगमा फरवार्डले आवास निर्माण गरेपछि त्यस क्षेत्रमा स्थानीय सरकारले खानेपानी, बाटो जस्ता सुविधाहरू उपलब्ध गराउने इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै फरवार्डका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले १२ महिनाको अवधिभित्र उक्त परियोजना सम्पन्न हुने बताएका थिए । उनले ६ लाख ६२ हजार रुपैयाँको लागतमा इनरुवा नगरपालिका वडा नं ७ चाँद बेलामा ३० घर निर्माण गरिने बताउँदै त्यसैगरी बर्जू गाउँपालिकामा ३० घर र गढी गाउँपालिका मा ४० घर निर्माण गरिने जानकारी दिएका थिए ।
महिला विकास उत्सुकता मञ्च (फरवार्ड)का अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षता तथा सुनसरी ३ बाट निर्वाचित संघीय सांसद तथा पुर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्य एवं सूची फाउन्डेसनका उपाध्यक्ष Lin Pi-Yu को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस अवसरमा कोशी प्रदेशसभाका सांसद रोहित कार्की, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, गढी गाउँपालिकाका प्रमुख आसनारायण चौधरीलगायतले उक्त अभियानमा आ-आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस