२०८१ असोज २५ गते शुक्रवार | 2024 October 11th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो

२५ असोज, काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।

यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

तलेजु भवानी मन्दिर खोलिँदै

यसैबीच हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काउने चलन छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिन रातो टीका र जमरा लगाइन्छ ।

 

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस