२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डले भन्छन्, बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन

People who adopted Byalgada's principle did not like the republic

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् । बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन । बहाना हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार । अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए । उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए ।’

‘संविधान बनाउने बेलामै चाहिँदैन थियौँ भन्ने साथीहरु नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ । सुरु देखिनै मन परेको छैन । उहाँहरूले यो संविधान आफ्नो भन्दा बाहिर भएको ठान्नुहुन्छ ’ उनले भने, ‘ उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन । उहाँहरूको चासो संविधान खारेजी हो । उहाँहरूको चाहना संविधान खारेजी हो ।’

एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको बताए । ‘उहाँहरूलाई समावेशिता त्यति मन परेको छैन । समानुपातिक त झन् मन परेको छैन । सङ्घीयता पनि मन परेको छैन ,अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन है । बयलगाडा सिद्धान्त त हामी सबैले सम्झेकै छौ नि त ’ प्रचण्डले भने , ‘ बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको सिद्धान्त मन परेको छैन नि मनभित्र त ’

संविधानमा माओवादीको अनुहार देख्ने गरेको उनले टिप्पणी गरेका थिए । संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको बताए । संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो । उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा अझै संकट नहटेको टिप्पणी गरे । ‘पहिलो र दोस्रो पार्टीले जुन तरिकाले सरकार बनाउनु भयो संकट त्यही छ साँच्चै देश र जनताको समस्याप्रति गम्भीर र जिम्मेवार भए त लुकाउनु पर्ने ,छल्नु पर्ने ,ढाँट्नु पर्ने हुँदैन नि ’ उनले भने ‘संकट छ , संकट त्यही छ ।’

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस