२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडासँग नेपालको दोस्रो हार

काठमाडौं । क्यानडा टी-२० सिरिजमा नेपालले दोस्रो हार ब्यहोरेको छ। मंगलबार राति सकिएको तेस्रो खेलमा नेपाललाई घरेलु टोली क्यानडाले ४ विकेटले पराजित गर्‍यो। सिरिजमा नेपालले क्यानडासँग दुवै खेलमा हार ब्यहोरेको हो। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

क्यानडाका लागि ओपनर दिलप्रित बजवाले २५ रन र निकोलास किर्टोनले २६ रन बनाए। दुवै जना १२औं ओभरमा आउट भए। दिलप्रितलाई सोमपाल कामी र कुशल भुर्तेल मिलेर रनआउट गर्दा किर्टोनलाई सोमपालले करण केसीबाट क्याच गराए। सन्दीप लामिछानेले १५औं ओभरमा श्रेयष मोब्भा (८ रन) र डिलोन हेलिगरलाई शून्यमा आउट गर्दा खेलमा नेपाललाई राहत मिलेको थियो।

तर १८औं ओभरमा सोमपालले एक नो बलसहित १२ रन खर्चिए। १९औं ‌ओभरमा करण केसीलाई क्यानडाका शाद बीन जफरले १ चौका र १ छक्का तथा रविन्दरपाल सिंहले १ छक्का प्रहार गरे। यो ओभरमा करणले १९ रन खर्चिदा नेपालको हातबाट खेल गएको थियो।

जफरले नटआउट ३३ रन र सिंहले नटआउट २० रन जोडे। बलिङमा ललित राजवंशी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे। घरेलु टोली क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १३९ रन जोड्यो।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर अनिल साहले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४१ रन र आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे। दुईबीच ९.१ ओभरमा ७० रनको साझेदारी भएको थियो। तर त्यसपछि रोहित पौडेल ६ बलमा ४ रन र कुशल मल्ल १२ बलमा ४ रन जोडेर आउट भए। कुशल भुर्तेलले १५ बल खेल्दा १३ रन जोडे भने कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। दीपेन्द्रसिंह ऐरीले ९ बलमा १२ रन जोड्दा गुल्सन झा १६ बलमा २ छक्काको मद्दतमा नटआउट २३ रन जोडे। करण केसीले २ बलमा १ छक्का हिर्काउँदा नटआउट ८ रन बनाए।

बलिङमा क्यानडाका हर्ष थाकेरले २ विकेट लिए। अब नेपालले अन्तिम खेलमा बुधबार राति ओमानसँग खेल्नेछ। यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालमाथि घरेलु टोली क्यानडाले १४ जित निकालेको थियो। आइतबार भएको दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले हराएको थियो।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस