२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हवाई उडानमा नयाँ रेकर्ड

सिबी अधिकारी, काठमाडौं । संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाईयात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५०० उडान भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार, आन्तरिकतर्फ हेलिकोप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकैदिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ ।

यसअघि, अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५०० हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक ११३ देखि १५ उडान भएको थियो । आन्तरिकतर्फ पनि दैनिक २७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

विमानस्थलका प्रवक्ता शेर्पाले आजका निम्ति आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको बताए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले जानकारी गराए । हेलिकोप्टरमार्फत उद्धार उडान पनि उल्लेख्य संख्यामा हुनेछन् ।

वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुले पनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एक मात्र विकल्प हवाई उडान हो । एक्कासि हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहँु विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य संख्याका यात्री विमान उडानको पर्खाइमा थिए । रासस

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस