२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा बाढीले दुई जनालाई बगायो, पुल र मोटरसाइकल पनि बगे

१२ असोज,विराटनगर । झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो । प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ ।

शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

झापाको कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले बताएको छ । कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र।१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले बताएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

बाढीले अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस