२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संस्कार संस्कृति जोगाउनुपर्छ तर, चाडपर्वमा हुने तडकभडक अन्त्य गर्नुपर्छ: पूर्वमन्त्री चौधरी

सुनसरी, ८ असोज । पूर्वमन्त्री भगबती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताउनुभएको छ । थारु महिला तथा तराइबासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम-२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी ३ का सांसद समेत रहनुभएका उहाँले त्यस्तो बताउनुभयो ।

पछिल्लो समय सबैजसो चाडपर्वहरू भड्किलो बन्दै गएको भन्दै उहाँले यसलाई नियन्त्रण गर्दै लैजानुपर्ने बताउनुभयो । ‘चाडपर्वको संरक्षण गर्नुपर्छ । चाडपर्वको संरक्षण गर्नु पहिलो दायित्व जुन समुदायले मनाउने त्यही समुदायको हुन्छ । त्यसपछि समाज र राज्यको दायित्व हुन्छ’, उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय चाडपर्वहरू भड्किलो बन्दै गएका छन् । यो पक्कै पनि राम्रो कुरा होइन । चाडपर्वहरू सबैले अपनत्व ग्रहण गर्ने खालको बन्नुपर्छ ।’

हुनेखानेहरूले गरगहना प्रदर्शन गर्ने र विपन्न वर्गले मन दुखाउने गरी पर्व मनाउन नहुने उहाँको भनाई थियो । ‘हिजो १/२ दिनमा मनाइने चाडपर्वहरू आज महिनौँ दिनसम्म मनाउने चलन चल्न थालेको छ । यो पक्कै पनि राम्रो विषय होइन । यसले हामीलाई आर्थिक रूपमा पनि हानी गर्छ भने, समयको पनि अनावश्यक खर्च हुन्छ’, पूर्वमन्त्री चौधरीले भन्नुभयो ।

जितिया पर्व तराईको महत्त्वपूर्ण लोक पर्व हो । यो पर्व विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्धिको कामना गर्दै महिलाहरू व्रत बस्ने गर्छन् । तीन दिनसम्म चल्ने व्रत असोज सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक गरिन्छ ।
विशेष गरेर थारु र तराईका महिलाहरूले आफ्नो सन्तानको दीर्घायु र प्रगतिको कामना गर्दै खोला-नालामा गई धूमधामसँग जितिया पर्व मनाउँछन् ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस