२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई पक्राउ गर्नै पुग्यो प्रहरी, यस्तो छ ताजा अवस्था

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि प्रहरी परिचालन गरिएको हो। प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। अदालतले आइतबार नै पक्राउ अनुमति नदिएको बुझिएको छ। यद्यपी प्रहरी रविलाई जरुरी पक्राउ पूर्जी दिएर आजै पक्राउ गर्न चाहान्छ । यसअघि गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाईपनि प्रहरीले काठमाडौंबाट ‘जरुरी पक्राउ पूर्जी’ लिएर नियन्त्रणमा लिएको थियो ।

तर लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजेको छ। सूर्यदर्शनका सहकारी पीडितहरूले कास्की प्रहरीमा २०८० माघ २२ गते रविविरुद्ध जाहेरी दिएका थिए। कास्की प्रहरीले त्यसलाई लामिछाने गृहमन्त्री भएपछि तामेलीमा राखेको थियो। प्रहरी प्रवक्ता डिआइजी दान बहादुर कार्कीले लामिछाने पक्राउका लागि प्रहरी परिचालन भए नभएको आफूलाई जानकारी नभएको तर पक्राउ गर्ने अधिकार स्थानीय प्रहरीलाई नै भएको बताए। उनको यो भनाईलेपनि प्रहरी पुगिसकेको छ । अहिले रास्वपाको केन्द्रीय कार्यालयमा सादा र प्रहरी पोसाकमा नै ठूलो संख्यामा प्रहरी परिचालित छ । त्यहाँ उपत्यकामा रहेका रास्वपका कार्यकर्ताहरुकोपनि ठूलो उपस्थिती छ ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो। सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ। समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ हुनसक्छ । यो सूचना आएपछि अहिले रास्वपाले आकस्मिक भेला गरिरहेको छ । देशभरबाट केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई सर्कुलर गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस