२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तातोपानी नाकाबाट सामान लिएर फर्कंदै थिइन् सुन्तली: मध्यराति भोटेकोसीमा अस्ताइन्, सानुको अवस्था अज्ञात

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट निकालिएको बोलेरोमा सवार दुईमध्ये शनिबार एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी निरञ्जन भट्टराईका अनुसार, बेपत्ता अर्का एकजनाको खोजी कार्य जारी छ। यद्यपि, शनिबार साँझसम्म पनि बेपत्ता अर्का एक जना फेला परेका छैनन्।

एक पुरुष र एक महिला सवार बा २० च २१८५ नम्बरको उक्त बोलोरो गाडीमा सवार बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङको शव फेला परेको हो। स्थानीयको सहयोगमा प्रहरीले लिएको जानकारी अनुसार, बोलेरो चालक भोटेकोसी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन्। शेर्पालाई भने फेला परेका छैनन्।

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार, मृत फेला परेकी सुन्तली व्यवसायी हुन्। वडा नम्बर ८ मा स्थायी ठेगाना भएपनि सुन्तली वडा नम्बर ९ स्थित बाह्रबिसेमा बसोवास गर्ने गर्छिन्। ‘उहाँ व्यवसायी हो। तातोपानी नाकाबाट सामान ल्याउँदै हुनुहुँदो रहेछ,’ मेयर बस्नेतले भने, ‘सोही क्रममा गाडी भोटेकोसी नदीमा खसेको खुलेको छ।’

शुक्रबार दिउँसोमात्रै उक्त बोलेरो दुर्घटनाबारे स्थानीयमार्फत प्रहरीले थाहा पाएको थियो। तर, उनीहरू बिहीबार राति नै दुर्घटनामा परेको मेयर बस्नेतले बताए। ‘गाडीको एउटा सामान बगाउँदै गरेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन्, तर दुर्घटना त शुक्रबार राति कै हो नि,’ मेयर बस्नेतले भने।

रातिको समयमा गाडी भोटेकोसीमा खसेको र शुक्रबार दिउँसो १२ बजेमात्रै थाहा पाइएको उनले बताए। मेयर बस्नेतका अनुसार, मृत भेटिएकी महिला चिनियाँ नाका हुँदै विभिन्न खाद्यवस्तुका सामग्रीहरू गाडीमा एकैपटक ल्याएर बेच्ने काम गर्थिन्। सोही क्रममा बिहीबार पनि उनी तातोपानी नाकाबाटै सामान लिएर फर्किरहेको आफन्तसँगको सोधखोजका क्रममा खुलेको छ।

‘उहाँ (सुन्तली)ले चक्लेट, बिस्कुट, जुस लगायतका सामग्रीहरू ल्याउने गर्नुहुन्थ्यो,’ मेयर बस्नेतले भने। सुन्तलीको शव उनका ससुरा धनबहादुर तामाङले सनाखत गरेका छन्। उक्त शव भोलि (आइतबार) पोस्टमार्टम गरेर मात्रै परिवारलाई बुझाइने डीएसपी भट्टराईले नेपालखबरसँग भने।

गाडी दुर्घटना भएको थाहा पाउनासाथ प्रहरीले क्रेन लगाएर ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा निकालेको थियो। वडा नम्बर ६ स्थित बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएको थियो। गाडी नदीबाट निकाल्दा कोही पनि मानिस थिएनन्। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस