२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली काँग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्छ : मन्त्री पौडेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले शुक्रवार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कांग्रेस बलियो भयो भने मात्रै जनता र देश बलियो हुने बताउनुभयो । उहाँले कांग्रेसका नेता कार्यकर्ताहरुले एकजुट भएर पार्टी र सरकारलाई सफल पार्न सक्रिय हुन आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य सेवामा सबै नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्ययोजनाका साथ सरकारले काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सेवाबाट कुनै पनि नेपाली बञ्चित हुनु नपरोस् भन्ने नेपाली काँग्रेसको पनि उदेश्य रहेको उहाँको भनाई थियो ।

उहाँले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन थालेको बताउनुभयो । मन्त्री पौडेलले थप्नुभयो, ‘‘सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको छ ।’’

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ काम गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रम घोषणा गरिने समेत सो अवसरमा बताउनुभयो ।

आमा सुरक्षा कार्यक्रमलाई पनि प्रभावकारी बनाउने योजना सरकारले बनाईरहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री पौडेलले सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालमा विरामीको लाइन हटाउने विषयमा आफू सुक्ष्म अध्ययनमा रहेको बताउनुभयो ।

जिल्ला पार्टी सभापति गौडेलले गरीब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

भेरी अस्पतालको स्तरबृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति ब्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उहाँले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराउनुभयो ।

गौडेलले नेपाली जनताले कांग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गर्नुभयो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस