२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरोले लग्यो १२ जनाको ज्यान

गुल्मी  । गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–१ अन्तर्गत पौंदीअमराईको कटौजे बिसौनामा पहिरोले पुरिँदा दुई घरपरिवारका चार जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान बिसौनाका बिष्णु बिकको घर पहिरोले पुरिँदा उहाँकी आमा ६६ वर्षीया मसुरी बिक र छोरी अढाई वर्षीया रियन्सी बिक सहित ६७ वर्षीय हुकुम बिक र उहाँका छोरा ४६ वर्षीय गोरे बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो । उक्त घटनामा परि वर्ष ३१ का बिष्णु बिक र उनकी श्रीमती २३ वर्षीया मुना बिक घाईते हुनुभएको छ । उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अबस्था खतरामुक्त रहेको प्रहरी उपरिक्षक भुजेलले बताउनुभयो ।

मसुरी बिक र हुकुम बिक दाजुबहिनी हुनुहुन्छ । उहाँहरूको घर सँगसँगै रहेको थियो । उक्त पहिरोबाट गोठमा पुगेको क्षतिले एउटा गोरु मरेको छ । पहिरोले घरगोठ पूर्ण रूपमा क्षति पुगेको छ । पानी परिरहेको हुँदा मंगलबार बिहान नौ बजेको समयमा सबै जना घरभित्र खाना पकाउँदै गर्दा अचानक घरमाथिबाट पहिरो खसेको बताईएको छ । पहिरो गएको जानकारी पाएपछि प्रहरी र स्थानीयको सहयोगमा घाईतेकोे उद्दार गरिएको थियो ।

मृतकहरूको सल्यक्रियाका लागि सदरमुकाम तम्घासबाट डाक्टर सहित सुरक्षाकर्मीहरूको टोली घटनास्थल पठाईएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उक्त घटनाबाट सिँगो जिल्ला स्तव्ध बनेको छ । यस अघि गत असार १४ गते गुल्मीको मालिका गाउँपालिका अन्तर्गत अर्जेमा पनि पहिरोले घर पुरिँदा एकै घरका पाँच जना दलित परिबारका सदस्यले ज्यान गुमाउनु परेको थियो । दुई महिनाको अबधिमा गुल्मीमा पहिरोका कारण नौं जनाले ज्यान गुमाई सकेका छन ।

यसैबीच बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको हो । बडिगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो । यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते हुनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस