२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सौर्य जहाज दुर्घटना : पाइलट शाक्यलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । स्वास्थ्यमा सुधार हुँदै गएपछि काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरेको हो । अस्पतालका निर्देशक प्रा. डा. मीना थापाका अनुसार पाइलट शाक्य सामान्य हिँडडुल गर्न सक्ने हुनुभएको छ । हड्डी भाँचिएका कारण फलोअप गरिरहनु पर्ने निर्देशक थापाले जानकारी दिनुभयो ।

अस्पतालले डिस्चार्ज लिन सक्ने भने पनि शाक्यको परिवारले भने निर्णय गरिसकेको छैन । जहाज दुर्घटनामा शाक्यको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको थियो । साथै ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् । शाक्यलाई साउन १० गते आईसीयूबाट सामान्य वार्डमा सारिएको थियो ।

गत बुधबार विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै हुनुहुन्थ्यो । उहाँले ‘म ठीक छु, अरूलाई हेर्नू’ भनिरहनुभएको थियो । दुर्घटनालगत्तै उद्धार गरेर क्याप्टेन शाक्यलाई विमानस्थलबाट नजिकै रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

Saurya Airlines plane crash injured captain Manish Ratna Shakya being discharged today

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस