२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि गाउँले मागे प्रधानाध्यापकसहित पदाधिकारीको राजीनामा

धनगढी । कैलालीको एक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू एसईई परीक्षामा अनुत्तीर्ण भएपछि गाउँलेले विद्यालयका प्रधानाध्यापकसहित व्यवस्थापन समितिका सबै पदाधिकारीहरूको राजीनामा मागेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

विद्यालयमा अध्ययन विद्यार्थीहरू २०८० को एसईईमा सहभागी कोही पनि विद्यार्थी उत्तीर्ण नभएपछि गाउँलेहरूको आइतबार बसेको भेलाले राजीनामा माग गरिएको हो । गाउँका भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा बसेको भेलाले सो निर्णय गरेको गाउँका स्थानीय दयाशंकर चौधरीले बताउनुभयो । गाउँको भेलाले विद्यालयका प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेको हो ।

गाउँलेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रधानाध्यापकसहितका पदाधिकारीले राजीनामा दिनुपर्ने निर्णय गरेका हुन् । सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएका छैनन् ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस