२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमानको यातना सहन नसकेर मर्न औषधि बोकेर पशुपति गएकी कथावाचिका राधिका दुनियाँको रोजाइमा

इटहरी । भव्य पान्डाल, चारैतिर साउन्ड बक्स अनि माइकको बीचमा एउटी नारी सबैको मन छुने कथाहरु भन्नुहुन्छ । महापुराणका कथाले सबैको ह्दय जित्नुहुन्छ । कहिलेकाही आफ्नै जीवनकथाले रुवाउनुहुन्छ । उहाँ हो राधिका दासी।

२०४५ साल भदौ १ को जन्म। पढाइमा अत्यन्तै तीक्ष्ण, जसले १२ वर्षको उमेरमा एसएलसी पास गर्नुभयो,’ मलिन स्वरबाट क्रमशः हाँसीहाँसी बोल्न सुरु गर्नुभएकी उहाँका कथा वाचनकै क्रममा गला एक्कासि अवरुद्ध हुन्छन्, आफ्नै कथा भन्ने भने निक्कै गाह्रो हुने रैछ।’

राधिका दासीको जन्म मोरङको कानेपोखरी गाउँपालिकामा भएको हो, पण्डितको घरमा। दोस्रो सन्तानका रुपमा जन्मिनुभएकी उहाँको पढाइ भने काठमाडौंमा भयो। काठमाडौंमा बसेर पढिरहँदा १८ वर्षको उमेरमा उहाँको विवाह भयो। तर त्यो वैवाहिक सम्बन्ध निकै कष्टपूर्ण बन्यो । आफ्नो परिवार र पढाइका विषयमा उपस्थित सयौंलाई सुनाइरहँदा आँसु थाम्न सक्नुहुन्न । माफी माग्दै आँसु पुछ्दै अनि फेरि रुँदै बोल्न कहिलेकाही आफ्ना कथा सुनाउँनुहुन्छ उहाँ, ‘मेरा मातापिताको इच्छामै मेरो विवाह भयो, मैले कुनै प्रेम विवाह गरेकी थिइनँ।’

राम्रो र सम्पन्न परिवार भनेरै छोरीको विवाह गरिदिने निर्णय लिनुभएको राधिकाको भनाई छ । पारिवारिक संस्कारले आमाबुवाको रोजाइमा प्रश्न उठाउन मानेन र राधिकाले विवाह गर्नुभयो । तर, विवाह भएको केही समयमै उहाँका श्रीमान् मानसिक बिरामी भएको खुल्यो। झुक्याएर विवाह गरिदिएको देखियो । त्यसपछि पनि राधिकाले परिवार सम्हाल्न सक्छु कि भनेर सात वर्ष कोसिस गर्नुभयो । उहाँ आफू पनि पढ्दै स्कुल पढाउँन थाल्नुभयो। छोरा जन्मियो। त्यसबीचमा श्रीमान्का कारण कति हिंसा भोग्नुपर्यो, पुराण सुन्न बसेका भक्तजनका अगाडि भन्दाभन्दै उहाँले कैयौंपटक आँसु पुछ्नुहुन्छ । सुनिरहनेका आँखा रसाउँछन् ।

‘आफ्नै श्रीमान्ले रातको ११ बजे कुनै जंगलमा लगेर तलाईं मार्छु भनेर तरबार देखाउँदा कस्तो हुन्छ होला ? म एक्ली छोरी, त्यो प्रेममा हुर्केकी थिएँ, जहाँ मेरा पाँच जना काकाहरूले कहिल्यै भुइँमा राख्नुभएन,’ उहाँले रुँदै सुनाउँनुहुन्छ, ‘अहिले हेर्नुहुन्छ यी हातहरू, त्यो समयमा मेरो हातमा दागैदाग थियो, सिगरेटले पोलेर, मलाई मर्न मात्र मन लाग्थ्यो उहाँले हात देखाउँनुहुन्छ ।’

छोराको हर्कतबारे जानकार उहाँका आमाबुवाले पनि उहाँलाई सुधार्न कुनै प्रयास गर्नुभएन । जसका कारण बुहारी राधिकामाथि बारम्बार यातना बढ्दै गयो। उहाँले सहनै नसक्ने अवस्थामा पुगेपछि मर्ने विचार गर्नुभयो । कतै सुन्नुभयो, ‘स्लिपिङ ट्याब्लेट खायो भने त सुतेको सुत्यै मरिन्छ रे। सहज मृत्यु खोज्दै उहाँ ३६५ वटा स्लिपिङ ट्याबलेट बोकेर पशुपतिको जंगलमा पुग्नुभयो । ‘जब पानी निकालेर खान लाग्नुभएको थियो, स्कुलबाट फोन आयो, तपाईंको छोरा सिकिस्त छ भनेर, अनि दौडेँ उहाँ खुलाउनुहुन्छ ।’

उहाँलाई यति चाँडै मर्न लेखेको थिएन क्यारे। सात वर्षपछि उहाँले श्रीमान्सँग बस्न नसक्ने निश्चित गर्नुभयो । ‘मैले पहिलो पल्ट परिवारलाई त्यतिखेर मात्रै भनेँ, जब अब चाहिँ बस्न सकिँदैन भन्ने निश्चित भयो,’ उहाँले भन्नुभयो । त्यसपछि आफ्नो परिवारसमेतको सहमतिमा उहाँले सम्बन्धविच्छेदको मुद्दा हाल्नुभयो । अंश पाउनुपथ्र्यो उहाँले। ‘तर सबै जेठो छोराको नाममा अंश राखिएको रहेछ। मेन्टल पेसेन्टलाई मुद्दा लाग्दैन रे, मैले पछि मात्र थाहा पाएँ,’ उहाँले भन्नुभयो । त्यसपछि उहाँ मोरङ आउनुभयो । छोरालाई विराटनगरको एउटा स्कुलमा भर्ना गर्नुभयो अनि आफू पनि त्यहीँ पढाउन थाल्नुभयो । दुई–तीन महिनापछि उहाँ भारतको वृन्दावन जानुभयो, मन बहलाउन। उहाँका अनुसार त्यहाँ एक जना गुरुले उहाँलाई जीवन त्यसै खेर नफाल्न, बरु समाजका लागि काम गरेर उपयोग गर्न सल्लाह दिनुभयो ।

उहाँ त्यहीँ बसेर पढ्न थाल्नुभयो । ‘सानोमा हजुरबुबाको संगतमा लागेर मैले वेदका मन्त्र पढ्न थालिसकेकी थिएँ, त्यसैले त्यहाँ त्यस्तो गाह्रो भएन,’ उहाँ भन्नुहुन्छ । आचार्यसम्म पढेर नेपाल आउनुभएकी राधिका दासी यति बेला कयौँको मन जित्ने कथा बाचिका हुनु भएको छ । कयौं सामाजिक कार्य गर्नुभएको छ । ठाउँठाउँमा पुराण भन्दै सहयोग संकलन गरिरहनुभएको छ ।

उहाँले वृन्दावनमा रहँदै धार्मिक प्रवचन दिन थालिसक्नुभएको थियो । त्यहाँका केही संस्थामा अंग्रेजीमा पनि प्रवचन दिनुभयो । पछि आफ्नै देशमा केही गरौं भन्ने सोचेर २०७१ सालमा नेपाल आउनुभयो । उहाँले नेपाल आएर पहिलो पटक आफ्नै खर्चले इटहरीमा पुराण लगाउनुभयो । पुराणबाट उठेको रकमले माया घर बनाउँनुभयो । माया घर त्यही घर हो, जहाँ अहिले उहाँका श्रीमान् जस्तै मानिसहरूलाई राखेर उपचार गरिन्छ। त्यस्तै सडकमा बस्ने अशक्त, असहायहरूलाई समेत उद्धार गरिन्छ। माया घरमा परिवारबाट माया नपाएर बेघरबार बनेका, गलत संगत वा मानसिक अवस्थाका कारण सडकमा आएकाहरूलाई राखेर उपचार गरी सीप सिकाएर स्वरोजगार बनाउने अनि पुनस्र्थापना गर्ने उद्देश्य छ।

दुई वटा विषयमा मास्टर्स गर्नुभएकी र काठमाडौंमा बसेर पढ्नुभएकी राधिका दासी यसरी चन्दन घसेर पुराण भन्न कुद्नुहोला भनेर न त उहाँका परिवारले सोचेको थियो, न उहाँ आफैंले। तर भाग्यले यसरी घुमाएर ल्यायो कि उहाँले आफ्नो जीवनलाई ‘खेर’ फाल्नुभन्दा समाजको हितमा खर्चिने निर्णय लिनुभयो । उहाँको क्षमता, आवाज र सुन्दरताले दुनियाँका कथा बाचकलाई जितिरहेको छ । अहिले उहाँ दुनियाँको रोजाईको व्यक्तिमा पर्नुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस