२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प पीडितको अस्थायी टहरामा खस्यो पहिरो, ४ जना गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

Helicopter rescue of pregnant women

सुर्खेत । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा ४ जना घाइते हुनुभएको छ । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा ४ जना गम्भीर घाइते हुनुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उहाँकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहनुभएको छ ।

उहाँहरुको शरीरमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।

मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताउनुभयो । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस