२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरमा एक युवकको हत्या, दुई जना घाइते

२५ असार, विराटनगर । विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ । १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए ।

गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए । उनका अनुसार मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिन्छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको एसपी कार्कीले बताए । घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस