२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उर्लियो हनुमन्ते, भक्तपुरका घरघरमा पस्न थाल्यो [ ७ तस्वीर ]

भक्तपुर । शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पसेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ ।

वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताए ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताए । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताए । बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ ।

भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर ः रमेश गिरी / रासस

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस