२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापा र झालाई अदालत पेस गरिंदै

१५ असार , काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र बेचेन झालाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिने भएको छ । दुबै जनालाई प्रहरीको विशेष टोलीले शुक्रबार पक्राउ गरेको थियो ।

थापालाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि र झालाई म्याद थपका लागि अदालतमा पेस गरिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थापालाई यसअघि पेस भएको अभियोग पत्रमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको जानकारी दियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाकार रहेको आरोपमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो । बादल गृहमन्त्री भएको बेलामा बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा रकम उठाएको प्रमाण अनुसन्धानका क्रममा भेटिएको प्रहरीले बताएको छ । प्रहरीले ०८० वैशाख ३१ गते प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै बिचौलियाबाट एक करोड रुपैयाँ लिएको दाबी प्रहरीले अभियोग पत्रमा गरेको छ । जिल्ला अदालत काठमाडौँका अनुसार प्रतीकलाई अदालत पेस गराएपछि जिल्लाले सुरुमा उनको बयान गराउने छ । बयानपछि उनको पुर्पक्षका लागि बहस हुनेछ । पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने इजलासले निर्णय गर्नेछ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस