२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘भविष्यका शहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनु पर्छ’ : मेयर शाह

८ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन स्वदेश फर्किएका छन् । मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त जानकारी दिएका छन् ।

‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो,’ उनले भने ।

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा शहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधाहरू नजिक रहेका शहरहरूमा पुर्‍याएर, ठूला शहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तराष्ट्रिय संस्था हो ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस