२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभर मनसुन कहिलेसम्म फैलिसक्छ ? – यसो भन्छन् मौसमविद्

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले जानकारी दिए ।

नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन, मानन्धरले भने, आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ । उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो ।

माहाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस