२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चुच्चे नक्सा क्षेत्रको सडकमा बजेट नदिएको विरोधमा रोष्ट्रममै मौन धारण

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको रोष्ट्रममै मौनधारण गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसदबाट पारित नेपालको नयाँ नक्साले समेटेको क्षेत्रका नागरिकहरु भारतको बाटो हुँदै आवत जावत गर्नुपर्ने बाध्यता सरकार र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले नबुझिदिएको गुनासो गरे ।

‘मन्त्रीजीलाई यो देशको भूगोलबारे जानकारी छ कि छैन भन्ने शंका लाग्यो । जहाँ एक ठाउँबाट अर्को ठाउँमा जान भारतको भूमि भएर जानुपर्छ’, सांसद बडूले भने ।

भारतको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि २०७७ सालबाट तुसारपानी, कोशेधार तिंकर सडक निर्माण सुरु गरिएको उनले स्मरण गरे ।

७९ किलोमिटरको सडकका लागि आफूले निकै मिहिनेत गरेको तर, भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नसमेटेको भन्दै उनले रोष प्रकट गरे । यो सडकको विषयमा प्रधानमन्त्री, रक्षामन्त्री, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्री र नेपाली सेनासमेतको उपस्थितिमा पाँच वर्षे योजना बनाउने र पाँच वर्षमा काम सक्ने गरी वजेट विनियोजन गर्ने सहमति भएको बताए ।

यो सहमति अनुसार बजेट आउनुपर्नेमा योजना समेत नपरेको भन्दै उनले सरकारको आलोचना गरे । यो सडकको सेवा प्राप्त गर्ने क्षेत्रलाई नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) मा समेट्नका लागि सबै सहमत भएको स्मरण गर्दै उनले भने, ‘यो राष्ट्रिय महत्वको विषय हो । यस्तो विषयमा सबै उभिऔं ।’

यसका निम्ति सरकारको गम्भीर ध्यानाकर्षण गराउन उनले सभामुखसँग रुलिङको माग गरे । त्यसपछि पूर्वनिर्णय र सहमतिहरु लत्याइएको भन्दै उनले मौन धारण गरे । ‘पूर्वनिर्णयहरु लत्याइयो । त्यो क्षेत्रका प्रति जुन उपेक्षा भयो र सुनुवाइ भएन । त्यसको विरुद्धमा र त्यसको विरोधमा जनताको तर्फबाट प्रतिनिधिको नाताले भन्दा सुनिएन । म केही नभनेर एक मिनेट मौन धारण गर्न चाहन्छु’ बडूले भने । एक मिनेट नबोलेरै रोष्ट्रममा उभिए ।

 

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस