२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद रामहरि खतिवडाले दिए भौतिक पूर्वाधार मन्त्रीलाई ५ रुपैयाँ

४ असार, काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार आगामी आर्थिक वर्षको विनियोजन विधेयक शीर्षक माथिको छलफलमा भाग लिंदै सांसद खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमार्फत ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यंग्य गरे ।

उनले ओखलढुंगाको महत्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठलाई भेट्नसमेत नपाएको गुनासो गरे । भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे । धनुषा ३ महासेठकी पत्नी जुलीकुमारी महतो निर्वाचित भएको निर्वाचन क्षेत्र हो ।

‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको बजेट पनि त्यही २ वटा क्षेत्रमा दिउँ,’ उनले ५ रुपैयाँको नोट निकाल्दै भने, ‘यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु । खतिवडाले रोष्टममा ५ रुपैयाँ छोड्दै आफ्नो भनाइ टुंग्याए ।’

 

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस