काठमाडौं । फ्लोरिडामा हुने भारत र क्यानडाबीचको खेल एक बल पनि नखेली रद्द भएको घोषणा गरिएको छ । यस खेलमा टस समेत हुन नसकेपछि अम्पायरले दुई पटक मैदानको निरीक्षण गरेर खेल रद्द गर्ने निर्णय गरेका थिए । फ्लोरिडामा म्याच हुनुअघि धेरै पानी परेको थियो जसका कारण मैदान भिजेको थियो । मैदान सुख्खा गर्नका लागि मैदान रक्षकले निकै प्रयास गरे पनि सफल भएनन् । चालु टी–२० क्रिकेटमा यो चौथो खेल हो जुन वर्षाका कारण रद्द भएको हो ।
भारत यसअघि नै सुपर आठमा प्रवेश
भारतीय टोली यसअघि नै समूह ‘ए’ बाट सुपर आठमा प्रवेश गरिसकेको छ । यो खेल रद्द हुँदा पनि कुनै फरक परेको छैन । क्यानडा विरुद्ध, भारतीय टोलीले सुपर एट अघि आफ्नो बेन्च स्ट्रेंथ परीक्षण गर्ने राम्रो अवसर थियो। अब भारतीय टोलीले सुपर आठमा जुन २० मा अफगानिस्तानको सामना गर्नेछ। भारतले समूह चरणको आफ्नो अभियान चार खेलबाट तीन जितसहित ७ अंकसहित शीर्ष स्थानमा राखेको छ। समूह ‘ए’ मा भारतले एक खेल पनि हारेको छैन । अर्कोतर्फ, क्यानडा चार खेलमा एक जित र दुई हारसहित तीन अंकसहित पाकिस्तानभन्दा अगाडि तेस्रो स्थानमा छ । यसै रंगशालामा आइतबार पाकिस्तान र आयरल्याण्डबीचको खेल हुँदैछ ।
फ्लोरिडामा तीन खेल रद्द
जारी टी–२० विश्वकपका चार खेल वर्षाले अवरुद्ध भएको छ । भारत र क्यानडाको खेलअघि गत जुन ४ मा वेष्ट इन्डिजको बार्बाडोसमा भएको इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । त्यसैगरी, जुन ११ मा फ्लोरिडामा नेपाल र श्रीलंकाबीचको खेल एक बल नभई रद्द भएको थियो भने जुन १४ मा अमेरिका र आयरल्याण्डबीचको समूह ‘ए’को खेल पनि रद्द गरी टस हुन सकेन । चाखलाग्दो कुरा के छ भने, फ्लोरिडाले चार खेलहरू आयोजना गर्ने अवसर पाएको थियो, जसमध्ये तीन खेलहरू अहिलेसम्म टस बिना रद्द गर्नु परेको छ। अब पाकिस्तान र आयरल्याण्डबीचको खेल आइतबार सोही मैदानमा हुने भएकाले त्यसमा पनि वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पाकिस्तानले ठूलो क्षति ब्यहोर्यो
वर्षा पाकिस्तानका लागि सबैभन्दा ठूलो खलनायक बन्यो। वास्तवमा, पाकिस्तानको आशा अमेरिका र आयरल्याण्डबीचको प्रतिस्पर्धामा टिकेको थियो। यो खेल भएको र आयरल्यान्डले अमेरिकालाई हराएको भए पाकिस्तान सुपर आठको दौडमा रहने थियो तर दुई टोलीबीचको खेल नहुँदा अमेरिका र आयरल्यान्डले एक–एक अंक पाए ।
योसँगै अमेरिका पाँच अंकसहित पाकिस्तानभन्दा अगाडि रह्यो । समूह ए को सुपर आठ पुग्ने दोस्रो टोली अमेरिका बन्यो । यससँगै सन् २००९ को च्याम्पियन टोलीको यात्रा समूह चरणमै टुंगिएको छ । पाकिस्तानले तीन खेलमा एक जित र दुई पराजयका साथ दुई अंक जोडेर चौथो स्थानमा छ । समूहको अन्तिम खेल जित्दा पनि उसको चार अंक मात्र हुनेछ ।
नेपाललाईपनि क्षति
जुन ११ मा फ्लोरिडामा नेपाल र श्रीलंकाबीच खेल भएको थियो भने नेपालले जित्ने सम्भावना थियो । बलियो टिम भएपनि विश्वविजेताहरुसँग खेलेको अनुभव नभएकै कारण आज नेपालले दक्षिण अफ्रिकासँग मात्र १ रनले जित गुमायो । श्रीलंकालाई जितेको थियो भने, नेपालले त्यो आत्माविश्वासले अफ्रिकालाई आज सहजै हराउने रहेछ । खेल राम्रो खेल्दा-खेल्दै बर्षा कै कारण नेपालपनि प्रतियोगिताबाट बाहिरियो ।