२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ नेपालले दक्षिण अफ्रिकासँग हार्नुका ५ कारण

नवीन लुइँटेल, ललितपुर । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग पराजित भएको नेपाल सुपर एटमा पुग्नबाट वञ्चित भएको छ। पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको र दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण खेल रोकिएर बराबरी अंक बाँडेको नेपाल अफ्रिकासँगको हारपछि अर्को चरणमा पुग्न सकेन। अब अन्तिम खेलमा बंगलादेशसँग मात्र नेपालले खेल्न बाँकी छ।

शनिबार दक्षिण अफ्रिकासँग उत्कृष्ट प्रदर्शन गरेको नेपालले जित नजिक पुगेर पनि खेल आफ्नो पक्षमा पार्न सकेन। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर मात्रै ११४ रन मात्रै बनाएको हो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। यस्तै अनिल साहले २७ रन बनाए।

दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपालको कसिलो बलिङ सामु अफ्रिका ११५ रनमै समेटिएको थियो। नेपालका लागि कुशल भूर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए। राम्रो खेल्दाखेल्दै पनि नेपालले जितिसकेको खेल गुमाउनुपर्‍यो। यसका पछाडि के के कारण हुनसक्छन्।

अन्तिम ओभर र अन्तिम २ बलको प्रभाव

अन्तिम दुई बलमा नेपाललाई जितका लागि दुई रन मात्र चाहिएको थियो। एक रन लिएको भए खेल सुपर ओभरमा जाने निश्चित थियो। १९.५ ओभरको बल गुल्सन झाले डट खेले। त्यसपछि अन्तिम १ बलमा जितका निम्ति २ रन चाहिँदा गुल्सनले १ रनले बराबरी गरेर सुपर ओभरमा, २ रनले जित र चौका या छक्काको कुनै बाउन्ड्रीले जित सुनिश्चित हुने थियो।

निकै दबावमा रहेका उनले ओर्टनील बार्ट म्यानले फ्याँकेको सर्ट बललाई ब्याटमा लगाएर सट हान्न सकेनन् तर १ रन भने लिने अवसर भए पनि त्यसलाई पूरा गर्न सकेनन्। सोमपाल कामीसँग पार्टनरसीप गरिरहेका गुल्सनले अन्तिम सो बलमा अर्को इन्डमा पुगेर डाइभ लगाएको भए, सायद उनी आउट हुने थिएनन् र खेल नेपालले सुपर ओभरसम्म पुर्‍याउन सक्थ्यो।

थोरै दूरीले मात्रै रन आउट भएका गुल्सनले डाइभ हानेर ब्याटलाई लाइनमा टच गराउने सक्ने अवस्था थियो तर त्यसो हुन सकेन र अन्तिममा जितिसकेको म्याच पनि १ रनले दक्षिण अफ्रिकालाई सुम्पन पर्‍यो। १९ औँ ओभरका सुरुका २ बलमा १ या २ रन लिएको भए पनि खेलले अर्कै मोड लिन सक्थ्यो।

अनुभवको कमी

अन्तिम ओभरमा अनुभवको कमीले गर्दा टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई नेपालले हराउन सकेन। अन्तिमका २ ओभरमा कुनै पनि बल खेर नजाने गरी सकेको बाउण्ड्री नसकेको सर्ट रन खेलेको भए, नेपालले दक्षिण अफ्रिकालाई हराएर इतिहास रच्ने थियो। गुल्सन झाको सट्टा सोमपाल कामी स्ट्राइकमा भएको भए पनि अर्कै हुनसक्ने सम्भावना देखिन्थ्यो।

अफ्रिकी स्पीन बलर नेपाली ब्याटरका लागि घातक

दक्षिण अफ्रिका स्पीन बलर तबरेज शाम्सीको घातक बलिङले नेपाली ब्याटरलाई अप्ठेरोमा पारेका थिए। उनले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। खेलको ८ औँ ओभर र १८ ओभर नेपालका लागि घातक बन्यो। ७.२ ओभरमा कुशल भूर्तेलाई १३ रनमा तथा कप्तान रोहित पौडेललाई ७.४ ओभरमा आउट गरेपछि नेपाली टिम दबावमा आएको थियो। त्यसपछि १८ औँ ओभरमा फेरी महत्त्वपूर्ण २ विकेट लिएपछि अफ्रिका फेरि खेलमा फर्किएको थियो।

उसका स्पीन बलर शाम्सीले १७.३ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई ६ रनमा तथा १७.६ ओभरमा आसिफ शेखलाई ४२ रनमा आउट गरेपछि दक्षिणा अफ्रिकाको जित्ने आशा फेरि पलाएको थियो। शाम्सीको बलिङमा आसिफ, कुशल, दीपेन्द्र, रोहित आउट नभएको भए नेपालले सजिलै लक्ष्य पार गर्ने अवस्था बन्न सक्थ्यो।

दक्षिण अफ्रिकी ब्याटर र फुत्किएको क्याच

दक्षिण अफ्रिकाका २ जना ब्याटरलाई खुलेर ब्याटिङ गर्नबाट रोकेको भए या उनीहरूलाई कम स्कोरमै रोक्न सकेको भए नेपाललाई दबाव कम पर्न जान्थ्यो। दक्षिण अफ्रिकी ओपनर रिजा हेन्ड्रिक्सलाई ४३ रन बनाए। उनी १५.२ ओभरसम्म टिकेर खेलेका थिए। ४९ बलको सामना गरेर ५ चौका र १ छक्का हानेका उनलाई दीपेन्द्रसिंह ऐरीले आउट पारेका थिए।

१०.५ ओभरमा कुशल भूर्तेलले हेन्ड्रिक्सलाई सजिलो क्याच ड्रप गरेका थिए। अविनाश बोहराले फ्यालेको बल भूर्तेलले फुत्काएपछि चौका हुन पुग्यो। जीवनदान पाएका उनले थप ५ ओभर खेल्न पाए। यस्तै ट्रिस्टन स्टुब्स १८ बलमा २७ रन चट्काए। नट आउट रहेका उनलाई सस्तैमा समेटेको भए सायद नेपालले अझ कम लक्ष्य पाउन सक्थ्यो, जसले गर्दा जितका निम्ति मनोबल उच्च हुन सक्थ्यो।

१२.२ ओभरमा हेनरिक क्लासेनले २ रनमा जीवनदान पाए। सन्दीप लामिछानेको बलमा सोमपाल कामीले ‘ब्याकवार्ड प्वाइन्ट’मा दायाँ हातले समातेको बल फुत्केको थियो।

बलिङको अन्तिम ओभर र महँगो बल

नेपालले बलिङको अन्तिम ओभरमा ९ रन खर्चेर २ विकेट लियो। अन्तिम ओभरमा कुशल भूर्तेलले बलिङ गरेका थिए। ट्रिस्टन स्टब्सले पहिलो बलमै छक्का त्यसपछि दोस्रो बलमा २ रन र चौथो बलमा १ रन हानेका थिए। त्यसपछि २ विकेट लगातार गएको थियो। सो ओभरमा विकेटभन्दा पनि रन किफायती गरेको भए, पछि ब्याटिङमा कम दबाव पर्न जान्थ्यो। समग्रमा नेपाली बलरले दिएको रन त्यति धेरै नभए पनि खेलको परिणाममा भने किफायती रनले प्रभाव पार्ने देखिएको थियो। नेपालका लागि कुशल मल्लले २ ओभरमा १७ रन खर्चिए। उनले ८ औँ ओभरमा त १ चौका र १ छक्कासँगै थप १ रनसहित ११ रन दिए। ११ औँ ओभरमा अविनाश बोहराले तथा १७ औँ ओभरमा सन्दीप लामिछानेले १० –१० रन खर्चिए। १ ओभर बलिङ गरेका करण केसीले २ चोकासहित ९ रन विपक्षीलाई सुम्पिए। थाहा खबरबाट साभार

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस