२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर–८ मा

काठमाडौं । न्युजिल्यान्डविरुद्ध १३ रनको जित निकाल्दै वेस्ट इन्डिजले आईसीसी ट्वान्टी–२० विश्वकपको प्ले अफमा स्थान सुनिश्चित गरेको छ । बिहीबार टारोउबामा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनमात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । फिन एलनले २६, मिचेल स्यान्टनरले २१ र डार्यल मिचेलले १२ रन थप्दा रचिन रविन्द्र र जिमी निसमले समान १० रन जोडे ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले चार विकेट लिए । चार ओभर बलिङ गरेका जोसेफले १९ रनमात्र खर्चिए । गुडाकेस मोटीले तीन विकेट लिए । यस्तै, अकेएल हुसैन र आन्द्रे रसेलले समान एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

वेस्ट इन्डिजका सेर्फेन रुथफोर्डले ६८ रन बनाए । उनले ३९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । निकोलस पुरनले १७, अकेएल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए । टिम साउदी र लकी फर्गुसनले समान दुई विकेट लिँदा जिमी निसम र मिचेल स्यान्टनरले समान एक विकेट हात पारे ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेसँगै वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलअगावै सुपर–८ मा स्थान सुनिश्चित गरेको हो । तीन खेलबाट ६ अंक जोडेको वेस्ट इन्डिज समूह ‘सी’को शीर्ष स्थानमा छ । दुई खेल खेल्दा पनि अंकविहीन न्युजिल्यान्ड भने तालिकाको पुछारमा छ । यो हारसँगै न्युजिल्यान्डको सुपर–८ मा पुग्ने सम्भावना न्यून बनेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस