२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मध्य र पश्चिम नेपालमा गर्मी उत्कर्षमा, कहाँ कति डिग्री पुग्यो ?

काठमाडौं । मनसुनी प्रणाली पूर्वी नेपालको कोशी प्रदेशमा प्रवेश गरिसकेको भए पनि नेपालका धेरै भूभागमा अत्यधिक गर्मी रहेको भन्दै सरकारी निकायहरूले सावधानी अपनाउन सर्वसाधारण मानिसहरूलाई आग्रह गरेका छन्। मनसुन राजधानीहुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सिअस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गरेको छ। यद्यपि यो वर्ष तीन दिन चाँडै देशको पूर्वी भागमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सरकारी मौसमविद् के भन्छन्
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले मध्य र पश्चिम नेपालमा मनसुन तत्काल पुगिहाल्ने सम्भावना नदेखिएको बताउँछन्। “अहिले हामीले जेठ ३१ गतेसम्मको मौसमसम्बन्धी सूचना जारी गरेका छौँ। तर जेठ ३२ गतेबाट नै मज्जाले वर्षा हुन थाल्छ भन्ने पनि होइन। अहिले हामी नै ‘पर्ख र हेर’को अवस्थामा छौँ। तीन दिन गर्मी नै हुन्छ, केही ठाउँमा ४० डिग्रीभन्दा बढी नै तापक्रम हुन्छ भन्ने अनुमान हो,” उनले भने।

“अहिले पनि हामी अवस्थाको विश्लेषण गरिरहेका छौँ, अब पनि फेरि तातो हावाको लहरकै चेतावनी पनि आउन सक्छ। मनसुन चार-पाँच दिनमै पश्चिम वा सुदूरपश्चिम नेपालमा पुग्ने सम्भावना देखिँदैन।”

जल तथा मौसम विज्ञान विभागले जारी गरेको अद्यावधिक सूचनाअनुसार अहिले नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ। तर बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार क्षेत्रनजिक बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। मनसुनी प्रणाली कोशी प्रदेशबाट अघि बढ्न अझै नसकेकाले अत्यधिक गर्मी कायम रहने मौसमविद्हरू बताउँछन्।

गर्मी बढ्नुको कारण के हो
मौसमविद्हरूका अनुसार मनसुन लागेसँगै पूर्वको वायुले धकेलेर नेपाली भूभागमा पश्चिमी वायुलाई निष्क्रिय बनाउँदै लैजान्छ।

तर मनसुन पूर्वबाट नेपालमा प्रवेश गरे पनि अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ। मौसमविद् अधिकारीले भने, “त्यही भएर भारतकै भूभागबाट तातो हावा आइरहेको अवस्था छ। मध्य र पश्चिम तराईमा तातो नै आइरहेको छ।

“तर विराटनगरआसपास तराई भईकन पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको कारणले त्यहाँ पानी पनि पर्ने सम्भावना छ। बादल पनि लागिरहेको छ र तुलनात्मक रूपमा तापक्रम धेरै कम छ।”
विभागले बुधवार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमानमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने उल्लेख छ।

विभागले एक-दुई ठाउँमा चट्याङको पनि चेतावनी दिएको छ। मौसमविद् अधिकारी अझै दुई-तीन दिन मनसुन प्रणाली काठमाण्डू उपत्यका प्रवेश नगर्ने देखिएको बताउँछन्।

“काठमाण्डूमा आएपछि नै यहाँबाट बिस्तारै पश्चिमतर्फ जाने हो। बिस्तारैबिस्तारै सरिरहेको छ। आजको मितिसम्म पनि कोशीलाई पार गरेर मधेश वा बागमती प्रदेशसम्म आएको छैन।”

मौसम पूर्वानुमान विभागले जारी गरेको चेतावनीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा उच्च तापक्रम रहेको देख्न सकिन्छ। ती प्रदेशका केही जिल्लाहरूलाई ‘रातो’ रङ्ग दिएर चेतावनी जारी गरिएको छ। अधिकारीले भने, “त्यहाँ मनसुन पुगेको भए त्यहाँ पनि चिसो हुन्थ्यो र त्यो रातो रङ्ग हट्थ्यो। मनसुन आउन केही समय लागेको र पश्चिमतिरबाट सुक्खा अनि तातो हावा आइरहेको छ, त्यही भएर त्यहाँ तातो लहर पनि छ।”

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस