२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशी सांसद्को हत्यामा संलग्न आरोपी काठमाडौंमा पक्राउ

२० जेठ, काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंमा पक्राउ परेका छन् । बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न सइम हुसेन नामक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको छ । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान कूटनीतिक प्रयास पनि भइरहेको समाचारमा भनिएको छ ।

नेपाली सुरक्षा उच्च स्रोतले पनि बंगलादेशी सांसद्को हत्यामा संलग्न नेपाल आएको सूचना पाएपछि आफूहरुले खोजी गरेको पुष्टि गरेको छ । एक उच्च अधिकृतको भनाइमा, भारतीय, बंगलादेशी र नेपाली प्रहरीको समन्वयमा अझै अपरेशन जारी छ । महानगरीय प्रहरी कार्यालय, ढाका अन्तरगतको डिटेक्टिभ ब्रान्ज (डीबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

डीबीका प्रमुख हरुनोर रसिदले पनि सइम काठमाडौंमा पक्राउ परेको सुनेको ढाकामा पत्रकारहरुसँग बताएका छन् । ‘अरु आरोपी पनि भागेर नेपाल गएको हुनसक्छ, सबै कुरालाई हेरेर हामी काठमाडौं जाँदैछौं’, उनले पत्रकारहरुसँग भनेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै कोलकाता आएका उनी ३० वैशाखबाट सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएलगत्तै खोजीमा दिल्ली पुलिसको स्पेशल सेल र इन्टेलिजेन्स ब्यूरो (आईबी) का अधिकारीहरुले नेपाली सुरक्षा अधिकृतहरुसँग समन्वय गरेका थिए ।

यद्यपि, एक सातापछि उनी कोलकाताको एक अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । लगत्तै भारतीय प्रहरीले चार बंगलादेशीलाई पनि पक्राउ गरेको थियो । उनको विभत्स हत्या गरिएको देखिएको थियो । अनुसन्धानका क्रममा यसमा संलग्न थप व्यक्तिहरु नेपालतर्फ गएको देखिएको भारतीय प्रहरीको दाबी थियो । त्यसपछि बंगलादेशस्थित प्रहरीले पनि नेपाल प्रहरीसँग समन्वय गरेको उच्च स्रोतले बतायो । ‘नेपालबाट तेस्रो मुलुक भाग्न नपाउन् भन्नेमा उतापट्टीको सुरुदेखि नै चासो थियो’, स्रोतले भन्यो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस