२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

१८ जेठ, काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको भनेकी छन् ।

डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए । ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनका अनुसार, निम्स त्यतिबेला यस्तो अवस्थामा थिए, जतिबेला ‘नो’ भन्नुको उनलाई कुनै अर्थ थिएन । ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले भनेकी छन् । आफूले निरन्तर अस्वीकार गरिरहेपछि निम्स एकदमै रिसाएको उनले भनेकी छन् । पछि पुर्जा बाथरुममा प्रवेश गरेका बेला आफूले लुगा लगाएको उनले भनेकी छन् ।

न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ । क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवैले महिलाले साथीभाइ र परिवारलाई यसबारे सुनाएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले हेरेको रिपोर्टमा उल्लेख छ । सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनु परेको थियो ।

पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् । उनी भन्छिन्, ‘हिमालमा सबैभन्दा चुनौतिपूर्ण, डर र चिन्दा लाग्दो अवस्था मान्छेबाटै पैदा हुन्थ्यो, पर्यावरणबाट होइन ।’

‘वातावरणमा धेरै जोखिम निहित हुने भइहाल्यो, तर जब तपाईं निजी सम्बन्धबाट पनि जोखिम थप्नुहुन्छ, त्यो झनै डरलाग्दो हुन्छ । निम्सले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । समाजिक सञ्जालमा उनले महिलालाई हिमाल चढ्न प्रोत्साहित गर्दै स्ट्याटस पनि पोष्ट गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यालाई समेत गाइड गरेका छन् । निम्सबारे अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्ल्क्सिले पनि डकुमेन्ट्री बनाएको थियो ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस