२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने नेपालमै, क्यान पदाधिकारी श्रीमती र नेताकार्यकर्तासहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी परिवारसहित आइसिसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का मंगलबार श्रीमती र आफन्तसहित अमेरिका प्रस्थान गरेका हुन् ।

अध्यक्ष चन्द आइसिसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आइसिसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् । यो कोटा सन्दीपलाई भने हटाइएको छ ।

आइसिसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् । नेपाली टिम झण्डै एक महिनाअघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । अध्यक्ष चन्द नेपाली कांग्रेसका बैतडी सभापति पनि हुन् । उनले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ ।

सचिवसहित अन्य केन्द्रीय सदस्य पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्ति पनि जाने तयारीमा रहेको बुझिएको छ । तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्‍याउन अहम् भूमिका खेलेका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्योलमा छ ।

सन्दीपको विश्वकप खेल्ने अन्योल भएका बेला पदाधिकारी श्रीमतीसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ । यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो ।

यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसकारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ । भिसाको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउ दिइसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिए पनि आज दिनभरीमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस