२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कसरी थाहा पाउने हृदयघातका लक्षण हो ?

काठमाडौं । छाती दुख्ने समस्या अनेक कारणले हुनसक्छ । दुखाईको अनुभव पनि फरक फरक हुनसक्छ । कसैलाई छातीको बायाँ छेउमा दुख्छ, कसैलाई दायाँतिर दुख्छ । कहिले हल्का दुख्छ, कहिले सहनै नसक्ने गरी दुख्छ । दुखाईको स्थिती, मान्छेको स्वास्थ्य अवस्था वा आनीबानीलाई आधार मानेर यसको कारण पहिल्याउन सकिन्छ ।

जस्तो कतिपयलाई पेटमा ग्याँस भरिएर पनि छाती दुखेको महसुष हुन्छ । कतिलाई निमोनियाको कारण यस्तो हुन्छ । लगातार खोकीले पनि छाती दुख्छ । फोक्सोको संक्रमण, आहार नलीमा समस्या, हड्डी वा मांशपेशीको कारणले छाती दुख्छ । त्यसबाहेक केही गंभिर रोगहरुले पनि दुख्छ । जस्तो कि, हृदयघात ।

मुटुकै कारण छाती दुखेको हो वा अरु कारणले ? यसबारे छुट्याउन कठिन हुन्छ । अस्पताल पछि नै त्यसबारे टुंगो गर्न सकिन्छ । हामीले गंगालाल अस्पतालमा हेरेको बिरामीमध्ये धेरैमा हृदयघात देखिएको थियो, जो छाती दुखेको कारण अस्पताल आएका थिए । त्यसैले यदि छाती दुखेको छ भने हामीले मुटुको कारण हो वा होइन भनेर थाहा पाउनै पर्छ ।

हृदयघात अचानक हुने जोखिम हो ।

यद्यपि यसअघि केही सामान्य संकेत पाउन सकिन्छ । जस्तो सामान्य हिँडडुल गर्दा छाती दुख्नु, आरम गर्दा नदुख्नु, खलखल पसिना आउनु हृदयघातको लक्षण पनि हुनसक्छ । हुन त हृदयघातको लक्षण सबैमा एकनास नहुन सक्छ ।

मुटुको समस्या हुँदा छाती दुखाईको केही फरक अनुभव हुनसक्छ । जस्तो छाती दुख्ने वा भारीपन महसुष हुने, छाती दुखाईसँगै वान्ता हुने, अचानक पसिना आउने, सास फेर्नमा असहज हुने, मुटुको धड्कन अनियमित हुने । तर, लक्षण नै पर्खेर बस्नु उचित होइन । संभव भएसम्म छाती दुख्यो भने नजिकको स्वास्थ्य केन्द्रमा गएर जँचाउनु पर्छ । छाती दुख्नु हृदयघातको प्रमुख लक्षण हो । यसलाई खेलाँची नगरौं ।

हृदयघातकै संकेत हो त ?

यदि हृदयरोगको जोखिम बर्गमा कोही छन् भने उनीहरुले छाती दुख्नसाथ सजग हुनुपर्छ । खासगरी हृदयरोग भएका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टोरोलको समस्या भएका, परिवारमा कसैलाई हृदयघात भएको इतिहास छ भने त्यस्ता व्यक्ति जोखिम बर्गमा हुन्छन् ।

धेरै चुरोटको धुँवा तान्ने, रक्सी पिउने व्यक्तिलाई पनि हृदयघातको जोखिम छ । त्यसो अन्य व्यक्ति यसबाट सुरक्षित छन् भन्ने होइन । जो कोहीलाई हृदयघात हुनसक्छ तर जोखिम कसैलाई बढी र कसैलाई कम हुनसक्छ ।

उमेरको आधारमा पनि हृदयघातको जोखिम देखिन्छ । जस्तो पुरुषको हकमा ४५ बर्ष वा सो भन्दा माथि उमेर छ भने उनीहरुलाई हृदयघातको जोखिम छ भने महिलाको हकमा ५५ बर्ष माथिलाई यस्तो जोखिम छ ।

जाडो याम र हृदयघात

अक्सर के देखिन्छ भने तुलनात्मक रुपमा जाडो याममा हृदयघातको घटना बढी हुन्छ । यसो हुनुमा जाडो वा चिसोको कारण रक्त प्रवाहमा आउनसक्ने अवरोध नै हो । जाडोमा मुटुको नली वा धमनी खुम्चने र साँघुरिने हुन्छ । यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ र हृदयघातको जोखिम बढ्छ ।

छाती दुख्नसाथ जँचाउनु पर्छ ?

यदि तपाईं जोखिम बर्गमा पर्नुहुन्छ र छातीको दुखाई हृदयघातको लक्षणसँग मिल्दो छ भने अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्नैपर्छ । किनभने बाहिरबाट हेर्दा किन र कुन भागमा दुखेको भन्ने ठिम्याउन सकिदैन । यसका लागि सम्बन्धित चिकित्सकले जाँच गरेर मात्र थाहा हुन्छ ।

संभव भएसम्म कुनैपनि छाती दुखाई महसुष हुनसाथ चिकित्सकलाई जँचाउनु पर्छ । कतिपयले छाती दुखाईलाई अरु नै समस्या होला भनेर बेवास्ता गरिरहेका हुन्छन् । ग्याष्ट्रिकले वा चिसोले छाती दुखेको होला भनेर घरमै बस्छन् । यसले गर्दा उनीहरु थप जोखिममा पर्न सक्छन् । किनभने गंगालाल अस्पतालमा छाती दुखेर आउने बिरामीमध्ये अधिकांशमा हृदयघात देखिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस