२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय : पूर्वप्रधानमन्त्री नेपाल

राजविराज । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् । ‘अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर म अचम्मित भएको छु । र दु:ख पनि लागेको छ,’ बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँत कुरा गर्दै नेपालले भने, ‘यो कस्तो देश भयो ? स्वच्छ मिडिया राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो कि ?’

अध्यक्ष नेपालले कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो भनेर सबैलाई थाहा भएको बताए । ‘सबैलाई थाहा छ कि कैलाश सिरोहिया जनकपुरकबासी हो । सारा परिवारको बसोबास यही छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो,’ उनले भने, ‘एउटै नम्बरको दुईवटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेको होइन, प्रशासनको हो ।’

उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था समेत नभएको बताए । ‘कुनै कुरा बुझ्नैपर्छ भने पनि व्यक्तिलाई गिरफ्तार गर्नैपर्छ भन्ने होइन । गम्भीर अपराध हो र पक्राउ नगरे प्रमाण नष्ट हुने अवस्था भए पक्राउ गर्ने हो,’ उनले भने, ‘तर उहाँ स्वयम्‌ले अनुसन्धानमा सहयोग पुर्‍याउँछु भनिरहेका बेला उहाँलाई जुन ढंगले गिरफ्तारी गरिएको छ, यो निन्दनीय छ । हाम्रो पार्टी यसको भर्त्सना गर्दछ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस