२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब रगतबाटै क्यान्सरको परीक्षण

काठमाडौं । पछिल्लो समय विश्वमा क्यान्सर मानव जातिको सबैभन्दा ठुलो शत्रु बनेको छ । हिँडिरहेको, बोलिरहेको, देखिरहेको मान्छेलाई क्यान्सरका कारण गुमाउनु परेको खबरहरू सुनिरहेका छौँ । बेलायती वैज्ञानिकहरूले भने १९ खालका क्यान्सर शरीरमा फैलिनु भन्दा ७ वर्ष अघि नै पत्ता लगाउने रगत परीक्षण विकास गरेका छन् । क्यान्सर हुनु अघि शरीरका स्वस्थ कोशमा क्यान्सरको कोशमा परिणत हुन थाल्छ । यसका लागि वर्षौँ समय लाग्छ । वैज्ञानिकहरूले रगतमा क्यान्सरको जानकारी दिने प्रोटिन खोजेका छन् ।

बेलायतको अक्सफोर्ड पपुलेशन हेल्थका वैज्ञानिकहरूले ४४ हजार भन्दा धेरै मानिसको रगतका नमूना संकलन गरेका थिए । यसमध्ये ४ हजार ९००भन्दा धेरैलाई क्यान्सर भएको थियो । नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार वैज्ञानिकहरूले यी नमुनाहरूको जाँच गर्दा क्यान्सरसँग सम्बन्धित ६१८ प्रोटिन फेला पारेका थिए । जसमध्ये सात वर्षअघि रगत लिइएका व्यक्तिको रगतमा पनि १०७ प्रोटिन पाइएको थियो । यी प्रोटिनहरूको सहायताले क्यान्सरको उपचार प्रारम्भिक चरणमा गर्न सकिने आशा वैज्ञानिकहरूको छ ।

वैज्ञानिकहरूले प्रोटिन पत्ता लगाउन प्रोटोमिक्स नामक शक्तिशाली प्रविधि प्रयोग गरेका थिए । यसबाट शरीरमा रहेको तन्तुमा रहेका प्रोटिनको विश्लेषण गर्न सकिन्छ । यसले प्रोटिनहरू कसरी एकअर्कासँग अन्तरक्रिया गर्छन् भने थाहा भएको छ ।

प्रोटियोमिक्सले प्रत्येक व्यक्तिको रगतको नमुनाबाट १ हजार ४६३ थरी प्रोटिनहरूको सेटको विश्लेषण गरेको थियो । यस क्रममा क्यान्सर हुनुभन्दा तीन वर्षअघि रगतमा १८२ प्रोटिन फरक भएको पाइयो । क्यान्सरका बिरामीहरूको आनुवंशिक तथ्याङ्कको विश्लेषणबाट रगतमा पाइने ४० प्रोटिन व्यक्तिमा फरक फरक खाले क्यान्सरका लागि जिम्मेवार हुने देखियो ।

थप अनुसन्धानको आवश्यक

क्यान्सरको विकासमा यी प्रोटिनहरूको सही भूमिका पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको अक्सफोर्ड पपुलेशन हेल्थका वरिष्ठ जीनोमिक एपिडेमियोलोजिस्ट डा. जोशुआ एट्किन्सले बताए । अब वैज्ञानिकहरूले यी प्रोटीनहरूले वास्तवमा कसरी क्यान्सर जन्माउँछ ? भनेर पत्ता लगाउन कोसिस गर्दै छन् । यही जानकारीको आधारमा क्यान्सरका लागि जिम्मेवार प्रोटिनलाई लक्षित गर्न सक्ने औषधी बनाउन सकिने आशा वैज्ञानिकहरूको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस